
सिरहा। कर्तव्य ज्यान मुद्दामा संलग्न भई विगत ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। २०७१ सालदेखि कानुनको नजरबाट जोगिँदै आएका साविक औरही-८ का ५६ वर्षीय मिठु साफी धोवीलाई प्रहरीले गत माघ १५ गते नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार धोवी आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। २०७१ भदौ १९ गतेस्थानीय ४५ वर्षीय डोमा सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। सोही घटनालाई लिएर मृतककी पत्नी अमोलिया देवी सदायले मिठु विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
अनुसन्धानका क्रममा घटना भएको रात मिठु र डोमाबीच मादक पदार्थ सेवन गरी विवाद र झै–झगडा भएको तथ्य खुलेको थियो। हत्यापछि फरार भएका मिठुलाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले लामो समयको खोजतलासपछि फेला पारेको हो। पक्राउ परेका उनलाई माघ १९ गते सिरहा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले घटनाको विषयमा अहिले थप कानुनी अनुसन्धान भइरहेको बताए।

























