
झापा । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा बुधबार राति ढुंगा प्रहार भएको छ ।
ढुंगा प्रहारबाट कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयको झ्यालको सिसा फुटेको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार राति १२ बजेतिर ढुंगा प्रहार भएको जानकारी आएको छ ।
‘रास्वपाले एउटा घर भाडामा लिएर सम्पर्क कार्यालय खोलेको रहेछ । घरको माथिल्लो तलामा घरपेटी बस्दा रहेछन् । तर, कार्यालय राखेको कोठामा भने एक्कासि ढुंगा प्रहार भएको जानकारी आएको छ । ढुंगाले लागेर झ्यालको सिसा फुटेको छ,’ उनले भने । खड्काका अनुसार अन्य भौतिक क्षति भने भएको छैन ।
घटनामा संलग्नको पहिचान हुन नसकेको र पहिचानको प्रयास गर्दै खोजी तीव्र पारिएको उनले बताए । प्रहरीले घटनाको थप अनुसन्धान पनि गरिरहेको छ ।
अर्कोतर्फ रास्वपाका समर्थक एवं कार्यकर्ताले नै आफूहरु र कार्यालय असुरक्षित रहेको देखाउन यस्तो हर्कत गरेको हुनसक्ने अनुमान पनि गरिएको छ । डीएसपी खड्काले अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी दिए ।
झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा छन् । बालेन र ओली प्रतिस्पर्धामा उत्रिएपछि झापा–५ लाई चुनावी सुरक्षाका दृष्टिकोणले निक्कै संवेदनशील मानिएको छ ।

























