
रौतहट। नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार बैरगनिया नजिकैको गुवावारी घाटबाट दुई थान पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को २०औँ बटालियन र कुन्डवा चैनपुर प्रहरीको संयुक्त टोलीले हतियारसहित ३६ वर्षीय मोहम्मद इम्तियाजलाई नियन्त्रणमा लिएको हो।
नियमित जाँच र गोप्य सूचनाका आधारमा खटिएको टोलीले पल्सर मोटरसाइकलमा सवार इम्तियाजलाई रोकेर खानतलासी गर्दा दुई थान घरेलु पेस्तोल र चार थान जिउँदो गोली बरामद गरेको थियो। पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला कुन्डवा चैनपुरका बासिन्दा हुन्।
एसएसबी निरीक्षक आलोक कुमारको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति गुवावारी अफिस घाट आसपासको क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जनाएको छ। उनी लामो समयदेखि सीमावर्ती क्षेत्रमा अवैध गतिविधिमा संलग्न रहँदै आएको आशङ्का गरिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समय नजिकिँदै जाँदा सीमा क्षेत्रमा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै नेपाली सुरक्षाकर्मीले पनि आवतजावतमा कडा निगरानी सुरु गरेका छन्। हतियारसहित पक्राउ परेका इम्तियाजमाथि भारतीय प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

























