
काठमाडौं । ओखलढुंगामा भएको वृद्ध राई दम्पतीको हत्या प्रकरणमा संलग्न २ जना अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १५ दिनपछि काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ घर भएका ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय किशोर रहेका छन् । सीआईबीका अनुसार लुटपाट गर्ने उद्देश्यले उनीहरूले यही माघ १२ गते राति चिशंखुगढी–६ मा बसोबास गर्दै आएका ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको हत्या गरेका हुन् ।
प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरू काठमाडौंमै बस्दै आएको र लुट्ने योजनासहित विशेष रूपमा ओखलढुंगा पुगेको खुलेको छ । हत्या भएको भोलिपल्ट राई दम्पती खाट छेउको भुइँमा सिरक ओढेको अवस्थामा मृत फेला परेका थिए ।
घटनामा प्रयोग भएको कोदालो समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरूको कोठाबाट मृतकले प्रयोग गर्ने मोबाइल फोन, अभियुक्तहरूले प्रयोग गर्ने २ थान मोबाइल, लुटिएका १ सय ५९ थान रिचार्ज कार्ड, मृतकको कानमा लगाउने मारवाडी १ जोर, १ थान सिक्री, सी माला तथा नगद १२ हजार रुपैयाँ बरामद गरिएको सीआईबीले जनाएको छ ।
अनुसन्धानका क्रममा अरूले थाहा पाउन सक्ने डरले अभियुक्तहरू रातिको समयमा मात्र गाउँ प्रवेश गरी राति नै हत्या गरेर फरार भएको खुलेको छ । काठमाडौं फर्कँदा समेत उनीहरूले आफ्नो वास्तविक नाम नबताई अर्कै नाम प्रयोग गरी बसको टिकट काटेको पाइएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि ओखलढुंगा पठाइसकिएको प्रहरीले जनाएको छ । यसअघि पनि चिशंखुगढी गाउँपालिका–६ मा गत पुस १५ गते किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको लुटपाटकै उद्देश्यले हत्या भएको थियो ।
उक्त घटनामा संलग्न ४ जना अभियुक्त हाल पुर्पक्षका लागि कारागारमा रहेका छन् । एकपछि अर्को गरी वृद्ध दम्पती लक्षित हत्या घटनाले ओखलढुंगा जिल्लाको सुरक्षा अवस्था र ग्रामीण क्षेत्रमा वृद्धहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।

























