फाइल फाेटाेइटहरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले हतियार र लागुऔषधसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सीमा सुरक्षामा कडाइ गरिएका बेला हतियार र लागुऔषध बोकेर भारतीय नेपाल प्रवेश गरेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर–५० एजे–४२२९ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ करिब ५ः५० बजे सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा चालकको गतिविधि शंकास्पद देखिएपछि शरीर तथा साथमा बोकेको झोला खानतलासी गर्दा हतियार र लागुऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रका अनुसार पक्राउ पर्ने व्यक्ति भारतको अररिया जिल्ला बेला ग्राम पञ्चायत–४ का रामखेलन पासवान हुन् । उनको साथबाट इटालियन ९ एमएम स्वचालित पेस्तोल १ थान, ३ राउन्ड गोली लोड गरिएको म्यागेजिन, थप गोली, लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) करिब १ सय ग्राम तथा नेपाली र भारतीय गरी करिब १६ हजार रुपैयाँ नगद बरामद गरिएको जानकारी सशस्त्र प्रहरीले दिएको छ
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय सुनसरीका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सीमा क्षेत्रमा निगरानी बढाइएको छ । पक्राउ परेका पासवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको छ ।
बरामद भएको हतियार र लागुऔषधको स्रोत, सम्भावित सञ्जाल र नेपालभित्र प्रयोग वा वितरणको योजनाबारे विस्तृत अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न नियमित गस्ती र कडाइका साथ चेकजाँच अभियान जारी राखिएको प्रहरीको भनाइ छ ।

























