
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियरको गोली हानेर हत्या गरिएको छ ।
सब–इन्जिनियर अन्दाजी ३६ वर्षीय प्रमोद कुमारयादवको आइतबार साँझ हत्या भएको हो । यादव मलंगवा–१० स्थित भाडाको घरमा बस्दै आएका थिए । मोटरसाइकलमा आएका अपरिचित हतियारधारीले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझ ८ बज्नै लागेका बेला गोली प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए । बायाँ छातीमा गोली लागेका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवा पु¥याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरिदिएका थिए ।
कोठामा बसिरहेका यादवलाई हतियारधारीले फोन गरेर कम्पाउण्ड बाहिर बोलाएपछि गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यादव सिरहाको सुखीपुर नगरपालिकाका बासिन्दा रहेका यादवका श्रीमती र १ छोरी छन् ।
घटनापछि सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । घटनामा संलग्नको पहिचान हुन नसकेको र खोजी तीव्र पारेर विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।

























