रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’ को पहिलो गीत सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ५, बिहीबार ११:४८

काठमाडौंं। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक भएको छ। आगामी वैशाख २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको गीत एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस गीतमा आनन्द अधिकारीको शब्द र उज्ज्वल सागरको सङ्गीत रहेको छ। गीतमा स्वयं रामकृष्ण ढकाल र गायिका रचना रिमालले स्वर दिएका छन्। उदयराज पौडेलले एरेन्ज गरेको यो गीतले विशुद्ध ग्रामीण प्रेमकथाको भाव बोकेको छ।

Advertisement

कार्यक्रममा निर्माता ढकालले सङ्गीतकार उज्ज्वल सागरलाई सम्मान स्वरूप आफ्नो हस्ताक्षरसहितको गितार उपहार प्रदान गरे। आँखामा ज्योति नभएका सङ्गीतकार सागरले ढकालको टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे। ढकालले यो चलचित्र राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटकमा आधारित नभई आफ्नै परिवेशको सामाजिक प्रेमकथा भएको प्रस्ट पारे।

गीतकार अधिकारीले गीतमा गरिबको निस्वार्थ प्रेमलाई बुझाउन खोजिएको बताए। गायिका रचना रिमालले आफ्नो स्वरका लागि निर्माता ढकालले लामो समय प्रतीक्षा गरेकोमा कृतज्ञता प्रकट गरिन्। निर्देशक प्रकु पाण्डेयले सम्पूर्ण टिमको मिहिनेतले उत्कृष्ट पारिवारिक चलचित्र तयार भएको दाबी गरे। अभिनेत्री वर्षा राउतले रामकृष्ण ढकालको चलचित्रमा काम गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताइन्।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा रहेका छन्। प्रकु पाण्डेयको कथा र निर्देशन रहेको यस चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला लगायतका कलाकारको पनि अभिनय रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.