
काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलोपटक डेब्यु गरेको कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै प्रतियोगितामा पहिलो एवं ऐतिहासिक अंक जोडेको छ ।
अमेरिकाको कान्सास सिटीमा आइतबार बिहान भएको समूह ‘ई’को खेलमा कुरासाओका गोलकिपर एलोय रुम नायक बने । उनले खेलभर १५ उत्कृष्ट सेभ गर्दै इक्वेडरका आक्रमणलाई विफल पारे ।
३७ वर्षीय रुमले लगातार दबाब झेल्दै गोल हुन नदिने महत्वपूर्ण भूमिका खेले । इक्वेडरले दर्जनभन्दा बढी गोल अवसर सिर्जना गरे पनि निर्णायक फिनिसिङ गर्न सकेन । कुरासाओले पनि केही अवसर पायो । तर, गोलमा परिणत गर्न सकेन ।
यो नतिजासँगै दुवै टोलीले समूहमा १–१ अंक जोडेका छन् । इक्वेडर पहिलो खेलमा आइभरी कोस्टसँग पराजित भएको थियो भने कुरासाओले जर्मनीसँग फराकिलो हार बेहोरेको थियो ।
यसै समूहमा जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ । आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।
अब कुरासाओ र इक्वेडर दुवैलाई नकआउट पुग्ने सम्भावना कायम राख्न अन्तिम खेल जित्नै पर्ने दबाब छ । कुरासाओले आइभरी कोस्टसँग र इक्वेडरले जर्मनीसँग खेल्नेछ । हार वा बराबरीले उनीहरूको यात्रा समाप्त हुने सम्भावना बलियो छ । कुरासाओका लागि यो बराबरी विश्वकप इतिहासमै पहिलो अंकका रूपमा दर्ज भएको छ ।



















