विश्वकप फाइनलको टिकट आकाशियो, मेसी–यमाल भिडन्त हेर्न ३० करोड रुपैयाँसम्म तिर्न तयार समर्थक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार ०७:१९

अमेरिका । फिफा विश्वकप २०२६ को फाइनलअघि टिकटको मूल्यले नयाँ इतिहास रचेको छ । अर्जेन्टिना र स्पेनबीच हुने उपाधि भिडन्तको एउटा टिकट आधिकारिक रिसेल बजारमा २३ लाख अमेरिकी डलरसम्म पुगेपछि विश्वकप फाइनल खेलकुद इतिहासकै सबैभन्दा महँगो प्रत्यक्ष खेल अनुभव बन्न पुगेको हो । नेपाली रुपैयाँमा यसको मूल्य करिब ३० करोड बराबर हुन्छ ।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् । लियोनेल मेसीको सम्भावतः अन्तिम विश्वकप फाइनल र स्पेनका युवा स्टार लामिन यमालको उदयसँग जोडिएको यो खेलप्रति विश्वभरका समर्थकको असाधारण आकर्षण देखिएको छ ।

Advertisement

फिफाको आधिकारिक बिक्री प्रणालीमा रहेका अधिकांश टिकट खेलअघि नै बिक्री भइसकेका थिए । त्यहाँ टिकटको उच्चतम मूल्य करिब ३२ हजार अमेरिकी डलरसम्म थियो । तर, खेल सुरु हुन एक दिनभन्दा कम समय बाँकी रहँदा आधिकारिक रिसेल प्लेटफर्ममा टिकटको मूल्य न्यूनतम १० हजार अमेरिकी डलरदेखि अधिकतम २३ लाख अमेरिकी डलरसम्म पुगेको छ ।

उच्च मूल्यका बाबजुद यस विश्वकपका अधिकांश खेल दर्शकले भरिभराउ बनेका छन् । फिफाका अनुसार समूह चरणका ७२ खेलमध्ये आधाभन्दा बढी खेल पूर्ण क्षमतामा सञ्चालन भएका थिए भने बाँकी खेलमा पनि करिब ९९.७ प्रतिशत सिट भरिएका थिए ।

प्रतियोगिताको सुरुवातमा मेक्सिकोको ग्वाडालाजारास्थित रंगशालामा अपेक्षाभन्दा कम दर्शक उपस्थित भएपछि महँगो टिकट नीतिको आलोचना भएको थियो । तर, प्रतियोगिता अघि बढ्दै जाँदा विश्वभरबाट समर्थकको उल्लेख्य उपस्थितिले आशंकालाई गलत सावित गरेको छ । टिकटिङ क्षेत्रका विज्ञहरूका अनुसार भिसा प्रक्रिया, यात्रा खर्च र सुरक्षासम्बन्धी चुनौती हुँदाहुँदै पनि विश्वकप फाइनल प्रत्यक्ष हेर्न समर्थकहरू जुनसुकै मूल्य तिर्न तयार देखिएका छन् ।

फाइनलमा स्थान बनाउन स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गरेको थियो । अर्कोतर्फ अर्जेन्टिनाले इङ्ल्यान्डविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै लगातार दोस्रो पटक विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको हो ।

मेसी र यमालबीचको बहुप्रतीक्षित प्रतिस्पर्धाले फाइनललाई विश्व फुटबलकै सबैभन्दा चर्चित खेलमध्ये एक बनाएको छ । त्यसकै प्रभाव टिकट बजारमा पनि स्पष्ट देखिएको हो । जहाँ एउटा टिकटको मूल्य करोडौँ रुपैयाँसम्म पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×