
अमेरिका । फिफा विश्वकप २०२६ को उपाधि भिडन्त सोमबार बिहानका राति सुरु हुँदैछ । विश्वकपको अन्तिम भिडन्तमा अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् ।
अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनाले युरोपेली शक्तिशाली टोली स्पेनको सामाना गर्दैछ । खेल नेपाली समयअनुसार सोमबार बिहानका राति १२ः४५ बजेबाट सुरु हुनेछ ।
लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा मैदान उत्रँदै छ । अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो । यसपटक सफल भए उसले चौथोपटक विश्व फुटबलको सर्वोच्च उपाधि उचाल्नेछ ।
यता, कप्तान रोड्रीको नेतृत्वमा रहेको स्पेन १६ वर्षपछि फेरि विश्वकपको फाइनलमा पुगेको हो । सन् २०१० मा पहिलोपटक विश्वकप जितेको स्पेन दोस्रो उपाधिको खोजीमा छ । लगातार तीन संस्करण अन्तिम १६ बाट बाहिरिएपछि स्पेनले युवा खेलाडीलाई अवसर दिँदै नयाँ संरचना बनाएको थियो । जसको प्रतिफल अहिले फाइनलसम्मको यात्राका रूपमा देखिएको छ ।
स्पेनका मुख्य प्रशिक्षक लुइस डी ला फुइन्टेले अनुभव र युवाशक्तिको संयोजनमार्फत अर्जेन्टिनालाई दबाबमा राख्ने रणनीति बनाएका छन् । छोटो पास, बल नियन्त्रण र मिडफिल्डमा प्रभुत्व जमाउने शैलीलाई उनले निरन्तरता दिने अपेक्षा गरिएको छ । प्रशिक्षक डी ला फुइन्टेले फाइनलमा पुगेका दुवै टोली विश्वकै उत्कृष्ट रहेको बताउँदै उपाधि जित्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
अर्कोतर्फ अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेसीको अनुभव र टोलीको सामूहिक प्रदर्शनमा विश्वास व्यक्त गरेका छन् । आठ पटकका बालोन डी’ओर विजेता मेसी प्रतियोगिताभर उत्कृष्ट लयमा छन् । स्कालोनीका अनुसार मेसी फाइनलका लागि पूर्ण रूपमा तयार छन् । टोली लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो भने अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको हो । फाइनलअघि दुवै टोलीका केही तथ्यांक पनि आकर्षक छन् । स्पेनका कप्तान रोड्रीले प्रतियोगितामा सर्वाधिक ६४८ पास पूरा गरेका छन् । स्पेनले लगातार ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ । युवा स्टार लामिन यामलले ३० सफल ड्रिब्लिङ गर्दै प्रतियोगितामा सबैभन्दा प्रभावशाली विंगरको छवि बनाएका छन् ।
यता अर्जेन्टिनाले सात खेलमा १९ गोल गर्दै सबैभन्दा आक्रामक टोलीको परिचय दिएको छ । कप्तान मेसीले आठ गोल र चार असिस्ट गरेका छन् । गोल्डेन बुटको दौडमा पनि छन् । स्पेनका गोलकिपर उनाई सिमोनले सातमध्ये छ खेलमा क्लिन सिट राख्दै टोलीको सफलतामा महत्वपूर्ण योगदान दिएका छन् ।
फाइनलमा मेसी, लौटारो मार्टिनेज, एन्जो फर्नान्डेज र क्रिस्टियन रोमेरो अर्जेन्टिनाका प्रमुख हतियार रहनेछन् भने स्पेनका रोड्री, लामिन यामल, मिकेल ओयार्जाबाल, पाउ क्युबार्सी र गोलकिपर उनाई सिमोनमाथि समर्थकको विशेष नजर रहनेछ । विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबीच हुने भिडन्तले नयाँ इतिहास लेख्ने निश्चित छ । अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने अभियानमा सफल हुन्छ वा स्पेनले १६ वर्षपछि फेरि विश्व फुटबलको शिखर चुम्छ भन्ने निर्णय सोमबार बिहानका रातिको ९० मिनेट, वा आवश्यक परे अतिरिक्त समय र पेनाल्टी सुटआउटले गर्नेछ ।

























