उपभोक्ता ठगी गर्ने कोशी ग्याससहित दुई फर्मलाई कारबाही

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १८:१७

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कारबाही गरेको छ। प्रशासनले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रा.लि. र विराटनगरको श्रीकृष्ण ट्रेडर्सलाई नगद जरिवानासहित कानुनी प्रक्रिया अगाडि बढाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार कोशी ग्यास उद्योगलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको थियो। यस्तै, अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम अर्थात् १४.१८५ केजी पाइएको प्रशासनले जनाएको छ।

उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल परीक्षण गर्दा तोकिएको भन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिनुले उपभोक्तालाई कम ग्यास दिएर ठगी गरिरहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। यसका साथै अत्यावश्यक सेवा अन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनका दिन बन्द पाइएकाले थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

यसैगरी, विराटनगर–७ मा रहेको श्रीकृष्ण ट्रेडर्सलाई अनुगमन टोलीको जाँचबुझ र निरीक्षण कार्यमा असहयोग गरेको भन्दै ११ हजार रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले एलपी ग्यासको वितरणलाई व्यवस्थित बनाउन र उपभोक्तालाई ठगीबाट जोगाउन अनुगमनलाई तीव्रता दिइएको र आगामी दिनमा यस्ता अनियमितता भेटिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×