
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।थाइल्याण्डको बैंककबाट हङकङ हुँदै आएका उनीहरूलाई मङ्गलवार राति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा क्याथे प्यासिफिकको उडानबाट आएका भारत पञ्जाबका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन्। प्रहरीको निगरानीबाट बच्न आरोपीहरूले बैंककबाट सिधै नआई हङकङ ट्रान्सिट बनाएर नेपाल आएको अनुसन्धानमा देखिएको छ। सोझै बैंककबाट आउँदा शंकास्पद मानिने भएकाले उनीहरूले यो बाटो रोजेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिए।
थाइल्याण्डबाट गाँजा ओसारपसार गर्नेहरूले पछिल्लो समय आगमनतर्फको भन्सार क्षेत्रमा लगेज छाड्ने र केही दिनपछि एजेन्टमार्फत दाबी गरेर लैजाने शैली अपनाउँदै आएको समेत प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा ब्युरोले थप अनुसन्धान अघि बढाएको छ।

























