
उनको हृदयको गहिरो सागरमा चुर्लुम्म डुबेँ म । इन्द्रेणीमा सामान्यतया हुने सात वटा रङहरू उनको रूपलाई अभिव्यक्त गर्न फिक्का भए । आज फेरि बिहानी पख घामसँगै उदाए मेरा अनौठा रहरहरू । बाटुला आँखाको हेराइ, त्यो न्यानो स्पर्श, सुमधुर ध्वनि र वदनको महकले मभित्र एउटा गहिरो आत्मीयता जगायो । लाग्थ्यो हामी सँगै नभएर धेरै पहिले देखि साथमा थियौँ ।
माघ महिनाको कुरा हो । यो महिनामा बाहिर जति धेरै जाडो हुन्छ । भित्र हृदय मेरो उति न्यानो हुँदै जान्थ्यो । कस्तो लत लागेको थियो । जुनलाई नियाली रहने । र सुत्नुअघि म जस्तै छटपटाइ रहेको बादल हेर्नु । त्यस रात निद्राले मलाई छोडेर आफू मात्र निदाइ रहेको थियो । केही ताराहरू आकाशमा अझै चम्किरहेका थिए । जसरी मेरो मुहार एक्कासि उनलाई सम्झँदा चम्किन्थ्यो । जसोतसो म त्यो रात निदाएँ । म भोलि बिहानै उठेर क्याम्पसतिर जाँदै थिएँ । म वाणिज्य संकाय +२ अध्ययनरत छात्र थिएँ । क्याम्पस भर्खरै खुलेको थियो । र, त्यहाँ पढ्ने कसैलाई म चिन्दिन्थेँ पनि । त्यसैले म उत्साहित पनि थिएँ, खोइ कस्ता साथीहरूसँग भेट हुने हो आज ?
कक्षा कोठा नजिकै पुगेर ढोका बाहिरै बाट हेरेँ । सायद कोही ढोकै नजिकै रहेछ । त्यो व्यक्ति को होला ? म अन्योलमा परेँ । त्यसपछि जब उनी फर्किन, लाग्यो खडेरीमा अचानक एउटा तिर्खाएको मान्छेले नदी भेटायो । जुन जस्तो मुहार त्यो पनि दाग बिनाको । म के बोलूँ ? के न बोलूँ ? भयो । एउटी अनुपम सुन्दरी मेरो छेउमै उभिएकी थिई ! मलाई होस नै भएन, मेरा नयन उनकै मुहारमा टपक्कै टाँसिएछन् ।
बिहानीको चिसो सिरेटोले उनको अनुहारलाई छोएर परेलीसम्म खसेका उनका फररर उडेका केसहरू मिलाउँदै थिए । सपक्क । मोती झैँ उनका नयनहरू झिलिक झिलिक गर्दै टल्किरहेका थिए । जसरी अँध्यारोमा जुनकिरी टिलपिल गर्थ्यो । आहा ! कति प्रिय आँखा ? मैले ती दुई सुन्दर नानीहरू आजसम्म भुलेको छैन ।
उनको घर ? सायद यतै हाइ स्कुल नजिकै होला । उनको हिँडाइमा एउटा अनुपम स्वतन्त्रता थियो । मेरो मन अझै पनि उनलाई पछ्याइ रहेको छ । ऊ सँगै हराएर गएको मन । आजसम्म फर्किएको छैन ।
उनले मेरो मन्द मुस्कानको भानसम्म गरिनन् । चुपचाप केही नभनी उनी भित्र पसिहालिन् । त्यो मौन आजसम्म मेरो मनमा सुरिलो भाका बनेर गुन्जिरहेको छन् । जुन मैले सुन्न सक्दिन । केवल महसुस मात्र गर्न सक्छु ।
मैले उनलाई त्यो दिन अन्तिम पटक भेटेँ । तर सपनामा सधैँ देख्थेँ । कहिल्यै बोल्न नसकेका कुराहरू भन्थेँ । कहिल्यै समात्न नसेका उनका हात समाउँथेँ । मेरो अनुमान, उनी यो सेक्सनको होइनन्, आज क्याम्पसको पहिलो दिन हो, आफ्नो पुरानो साथीहरूलाई भेट्न आएकी होलिन् । म उनलाई मेरै म बस्ने बेन्चको छेउमा देख्न चाहन्थेँ, तर कथाले अनुमति दिएन ।
ती सुन्दरीलाई क्याम्पसका सुन्दर–सुन्दर साथीहरूको प्रेम प्रस्ताव आउँछ । उनले चाहे तिनहरू मध्ये जो कोही सँग हिँड्ने अवसर पाएकी छन् । बेला–बेला उनको पछि लाग्नेहरूको ताँती हुँदो रहेछ । त्यसको एक उदाहरण त मैले पनि कहिलेकाहीँ देखेको हुँ ।
‘आज पाँच वर्ष बित्यो’–स्कुलबाट दिनभरि जागिर गरेर आएपछि । अचानक कलम समातेर । किन मैले लेख्न बसेँ ?



















