
एजेन्सी। स्पेनविरुद्धको विश्वकप फाइनलपछि भएको झगडामा संलग्न अर्जेन्टिनाका तीन खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाएको छ। फिफाको अनुशासन समितिले अर्जेन्टिनाका लेआन्द्रो परेदेसलाई १० खेलको प्रतिबन्धसँगै ९० हजार अमेरिकी डलर जरिवाना गरेको छ। नाहुएल मोलिनालाई सात खेलको प्रतिबन्ध र ९० हजार डलर तथा थियागो अल्माडालाई एक खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ।
अर्जेन्टिनाको प्रशिक्षक टोलीका सदस्य रोबर्टो आयालालाई पनि तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ। स्पेनका गाभीलाई भने एक खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ।
यसैगरी, विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीले फकल्यान्ड आइल्यान्डमाथि अर्जेन्टिनाको दाबी जनाउँदै ‘लस माल्भिनास सन अर्जेन्टिनास’ लेखिएको ब्यानर प्रदर्शन गरेको घटनामा भने खेलाडीलाई प्रतिबन्ध लगाइएको छैन। उक्त घटनाका कारण अर्जेन्टिनाको फुटबल संघ (एएफए) लाई ३ लाख २१ हजार अमेरिकी डलर जरिवाना गरिएको छ।
विश्वकपका अन्य खेलमा अर्जेन्टिनाका समर्थकले फिफाको भेदभावविरोधी नियम उल्लंघन गरेको विषय पनि सोही जरिवानामा समेटिएको छ। भेदभावसम्बन्धी घटनाका कारण अर्जेन्टिनाले आगामी एक घरेलु खेल ५० प्रतिशत दर्शक क्षमतामा खेलाउनुपर्नेछ। अर्को एक घरेलु खेलमा पनि दर्शक क्षमता ५० प्रतिशतमा सीमित गर्ने निर्णय गरिएको छ, तर उक्त प्रतिबन्ध हालका लागि स्थगित गरिएको छ। फिफाले कुल जरिवानामध्ये १ लाख डलरको रकमसमेत स्थगित गरेको जनाएको छ।
ब्यानर प्रदर्शनको घटनाप्रति बेलायती राजनीतिज्ञहरूले त्यसबेलै विरोध जनाएका थिए। लिबरल डेमोक्र्याट नेता एड डेभीले ब्यानर समात्ने अर्जेन्टिनाका खेलाडीलाई प्रतिबन्ध लगाउन माग गरेका थिए। यसअघि युरो–२०२४ जितेपछि जिब्राल्टरमाथि स्पेनको दाबीलाई लिएर गीत गाएका स्पेनका रोड्री र अल्भारो मोराटामाथि पनि युईएफएले प्रतिबन्ध लगाएको थियो।
यसैबीच, अर्जेन्टिनाको फुटबल संघले जुलाई १५ लाई ‘राष्ट्रिय फुटबल टोली दिवस’का रूपमा मनाउने घोषणा गरेको छ। यही दिन अर्जेन्टिनाले विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेको थियो।

























