
विराटनगर । संखुवासभाको सिलिङचोङ गाउँपालिका–४ को प्रहरी चौकी माङ्तेवा संखुवासभाको नवनिर्मित कार्यालय भवन सञ्चालनमा आएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी डीआइजी विनोद घिमिरेले ८ कोठा भएको अढाई तले भवनको उद्घाटन गरे । १ करोड ७७ लाख ६७ हजार ४ सय ९६ रुपैयाँको लगतमा सो भवनको निर्माण पूरा भएको हो ।
प्रहरी चौकीको भवनको उद्घाटन गर्दै डीआइजी घिमिरेले हिमाली तथा पहाडी दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकहरूको सुरक्षामा अहोरात्र खटिँदै आएको प्रहरीको दैनिकी नवनिर्मित भवनबाट थप सहज हुने बताए ।
उनले नयाँ भवनबाट प्रहरीले प्रदान गर्ने सेवाका साथै अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा समेत थप प्रभावकारी हुने प्रस्ट्याए ।
सो अवसरमा भवन निर्माण कार्यमा सहयोग पुर्याउनेलाई आभार व्यक्त गर्दै निः शुल्क जग्गा उपलब्ध गराउने जग्गा दाता दम्पती देउलक्ष्मी राई र पूर्णकुमार राईलाई डीआइजी घिमिरेले सम्मान गरे ।
सो अवसरमा संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सिलिङ्चोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङ, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीलगायतको उपस्थिति रहेको थियो ।

























