बारम्बार बमको त्रास फैलाउने खगेन्द्र खरेल : जेनजी आन्दोलनमा भागे, झापाबाट पक्राउ परे

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार १४:२४

झापा । झापामा ‘प्रेसर कुकर बम’ राखेर सर्वसाधारणलाई त्रसित बनाउने घटनामा फेरि एकपटक पुरानै नाम सतहमा आएको छ ।

सार्वजनिक स्थलमा विस्फोटक पदार्थ राखी राज्यकै शान्ति सुरक्षालाई चुनौती दिँदै आएका सञ्जय भनिने खगेन्द्र खरेल पुनः पक्राउ परेका छन् । यो घटना पनि उनका अघिल्ला गतिविधिसँग ठ्याक्कै मिल्दोजुल्दो रहेको देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत माईखोला माथिको कनकाई पुलको पूर्वतर्फ सडक डिभाइडरमाथि कालो झोलाभित्र प्रेसर कुकर बम राखिएको सूचना पाएलगत्तै प्रहरी र नेपाली सेनाको टोली परिचालित भएको थियो । अत्यन्त जोखिमपूर्ण मानिएको उक्त वस्तुलाई नेपाली सेनाको अरिदमन गणको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेपछि ठूलो मानवीय क्षति टरेको थियो ।

पुस १९ गतेको उक्त घटनाले केही घण्टासम्म राजमार्ग अवरुद्ध भयो । सर्वसाधारणमा भय र आतंक फैलियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाले सुरु गरेको अनुसन्धान अन्ततः ४६ वर्षीय खरेलसम्म पुग्यो । दमक नगरपालिका–१ घर भई हाल कनकाई नगरपालिका–८ सिर्जना टोलमा बस्दै आएका खरेललाई कनकाई–८ लक्ष्मीपुरबाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

साथीको घरमा लुकिछिपि बसेको अवस्थामा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार घटनास्थलबाट विस्फोटक सामग्रीसँगै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा पनि बरामद गरिएको थियो । खरेलले पछिल्लो समय ‘सनातन सुरक्षा सेना नेपाल’ संस्थाको नामबाट अपराधिक गतिविधि गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी ‘सनातन सुरक्षा सेना नेपाल’को संयोजक हुन् ।

यही पर्चा, बम राख्ने शैली, स्थान छनोट र डर सिर्जना गर्ने उद्देश्य खरेलका अघिल्ला गतिविधिसँग मेल खाएपछि उनी प्रहरी निगरानीमा परेका थिए । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार खरेल विस्फोटक पदार्थ प्रयोग गरी आतंक फैलाउने कार्यका पुरानै अभियुक्त हुन् ।

खरेलको नाम बम आतंकसँग जोडिनु नयाँ विषय होइन । २०८१ साल पुसमा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि र भोटेपुल क्षेत्रमा शंकास्पद प्रेसर कुकर बम फेला परेको थियो । तर, नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको थियो । उक्त घटनामा खरेल पक्राउ परेका थिए ।

त्यसअघि २०७८ साल चैत १४ गते इटहरी–२ नवजागृति टोलस्थित एउटा घरको कोठामा भएको बम विस्फोटमा रविन थापा र शेरजंग गुरुङ घाइते भएका थिए । उक्त घटनाको अनुसन्धान गर्दा खरेलको संलग्नता पुष्टि भएको थियो ।

त्यसैगरी, २०७६ साल वैशाख ३० गते झापाको कनकाईमाई नदीको पुलको रोड डिभाइडरमा विस्फोटक पदार्थ राखी आतंक सिर्जना गरिएको थियो । २०७६ साल असोज ९ गते बिर्तामोड नगरपालिकाको पश्चिम स्टेण्डमा शंकास्पद वस्तु राखिएको थियो ।

२०७८ साल कात्तिक १३ गते दमक नगरपालिका–५ स्थित शिवान चर्चमा शंकास्पद वस्तु राखेर अशान्ति मच्चाइएको थियो । यी सबै घटनाको शैली, स्थान र उद्देश्य एउटै देखिन्छ । ती सबै घटनाको केन्द्रमा खरेलको नाम जोडिएको छ ।

प्रहरी अभिलेखअनुसार खरेल यसअघि विस्फोटक पदार्थ सम्बन्धी कसुरमा दोषी ठहर भई २ वर्ष ५ महिना कैद सजाय भुक्तान गरिसकेका छन् । सजाय पूरा गरेर छुटेपछि पनि उनले आपराधिक गतिविधि नछाडेको प्रहरीको निष्कर्ष छ ।

यही कारण उनी निरन्तर प्रहरी निगरानीमा थिए । अवसर पाएसँगै पुनः सक्रिय भई सार्वजनिक स्थलमा बम राख्ने कार्य दोहोर्‍याउँदै आएको देखिन्छ । खरेलको पृष्ठभूमि झन् गम्भीर छ ।

उनी पछिल्लो समय सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए । ‘जेनजी आन्दोलन’को मौका छोपेर भदौ २४ गते उनी फरार भएको प्रहरीले जनाएको छ । फरार भएपछि उनी भूमिगत रूपमा सक्रिय रहँदै झापाका विभिन्न स्थानमा बम राखेर त्रास फैलाउने कार्यमा संलग्न रहेको डीएसपी खड्काले बताए ।

प्रहरीका अनुसार खरेल कुनै औपचारिक सशस्त्र समूहको स्पष्ट संरचनामा देखिएका छैनन् । तर, उनले विभिन्न समयमा गोर्खा जन्मुक्ति पार्टी, हिमाल सुरक्षा परिषद नेपाल र पछिल्लो समय ‘सनातन सुरक्षा सेना, नेपाल’जस्ता नाम प्रयोग गर्दै पर्चा सार्वजनिक गर्ने, धम्की दिने र बम राखेर मनोवैज्ञानिक आतंक सिर्जना गर्ने रणनीति अपनाउँदै आएको देखिन्छ ।

यी नामहरू वास्तविक संगठनभन्दा बढी डर र भ्रम सिर्जना गर्न प्रयोग गरिएको प्रहरीको आशंका छ । हाल खरेलमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत राज्यविरुद्धको कसुर, विस्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्ति सुरक्षामा खतरा पुर्‍याएको र संगठित रूपमा आतंक सिर्जना गर्न खोजेको अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले खरेलका विगतका सबै मुद्दा, सजाय, फरार अवस्था र गतिविधिलाई एकीकृत रूपमा अध्ययन गर्दै विस्तृत अनुसन्धान अघि बढाएको छ ।

तर, बारम्बार उही व्यक्तिले सार्वजनिक स्थलमा विस्फोटक पदार्थ राख्दै आतंक फैलाउने घटनामा संलग्न हुनले सबैलाई आश्चर्यचकित बनाएको छ । खरेलको पक्राउसँगै स्थानीयले तत्काल राहत महसुस गरे पनि यस्ता व्यक्तिबाट उत्पन्न हुने जोखिम दीर्घकालीन रूपमा कसरी नियन्त्रण गर्ने भन्ने चुनौती अझै कायम रहेको प्रहरी अधिकारीहरू स्वीकार गर्छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.