
काठमाडौँ । अर्काको कम्पनीको कागजात दुरुपयोग गरी ई–सेवामार्फत करोडौँको शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेतीलाई नियन्त्रणमा लिएको हो।
उप्रेतीले ‘वाइड–स्पेस इन्टरनेसनल प्रालि’ को स्थायी लेखा नम्बर लगायतका महत्त्वपूर्ण कागजातहरू अनधिकृत रूपमा प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले ती कागजातको दुरुपयोग गरी ई–सेवा मर्चेन्ट वालेट र व्यक्तिगत वालेटहरू खोली गैरकानुनी रूपमा आर्थिक कारोबार सञ्चालन गरिरहेको उजुरी परेपछि प्रहरीले सक्रियता बढाएको थियो।
कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार उप्रेतीले खोलेको ई–सेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार र व्यक्तिगत वालेटबाट ५६ लाख ३१ हजार गरी कुल १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको देखिएको छ। यो रकम मुख्यतया अनलाइन सट्टेबाजी लगायतका गतिविधिमा प्रयोग भएको प्रहरीको ठहर छ।
प्रहरीले उप्रेतीको साथबाट अपराधमा प्रयोग भएको एउटा ल्यापटप, दुई थान मोबाइल, २० थान विभिन्न कम्पनीका सिमकार्ड र मेमोरी कार्डहरू समेत बरामद गरेको छ। पक्राउ परेका उनलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

























