
दमक । झापाको दमक नगरपालिका–५ मा ५ वर्षीया नाबालिकाले कानमा लगाएको सुनको रिङ लुटपाट गरेको गिरोह पक्राउ परेको छ ।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्साल नेतृत्वको टोलीले ४ जनाको गिरोहलाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार गत बिहीबार दिउँसो करिब ३ बजे प्यारोन लिम्बू आफ्नै घरअगाडि खेलिरहेकी थिइन् ।
त्यही बेला प्र १–०१–००१ ह ८३८५० नम्बरको सीटी सफारीमा रहेका ४ जनाको समूह लिम्बूले कानमा लगाएको रिङ लुटेर फरार भएको झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार घटनाको भोलिपल्ट दिउँसो दमक–६ स्थित वडा कार्यालय अगाडिबाट सीटी सफारीसहित ४ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दमक–८ का १८ वर्षीय सञ्जय माझी, दमक–७ का १८ वर्षीय निश्चल विश्वकर्मा, दमक–६ का ३८ वर्षीय मेघराज मेहेत्तर र भारतको कोलकाता स्थायी घर भइ दमक–६ मा बस्ने ५३ वर्षीय रिटन दास रहेका छन् । दमक प्रहरीको हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी खड्काले दिए ।

























