
कैलाली । जिल्ला अदालत कैलालीले ४ वर्ष लामो प्रतीक्षापछि भूपेन्द्र बडुवाल हत्या प्रकरणसँग जोडिएको मुद्दाको फैसला सुनाएको छ । अदालतले १३ जनालाई दोषी ठहर गरेको हो ।
अदालतले मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई जीवित रहुँदासम्म आजीवन कैद र ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । लम्कीचुहा–१ का बडुवालको हत्या २०७८ कात्तिक २३ गते टीकापुर–१ मा भएको थियो ।
२०७८ फागुन २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो । जिल्ला न्यायाधीश गोकुल निरौलाको इजलासले मुख्य अभियुक्त नवीन रावल, आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज (चिरञ्जिवी)जंग शाही, रोहित आले र हिमाल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहुँदासम्मको आजीवन कैदको फैसला सुनाएको छ ।
त्यसैगरी, मदन शाही, हेमन्त शाही, धीरज (दीपेन्द्र) शाही, गोलु (निशान्त) मल्ल, शोहन शाहलाई दफा १७७ बमोजिम जन्मकैदको सजाय तोकिएको छ । अदालतले लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई पनि अभियोग दाबीअनुसार जन्मकैदको फैसला सुनाएको छ ।
अदालतले अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठलाई अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिएको छ । फरार प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तवीमा राखिएको छ ।
फैसला अनुसार सजाय पाउने १३ जनाले पीडितलाई संयुक्त रूपमा १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने छ । साथै, जनही २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने फैसला पनि भएको छ ।

























