
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादका सम्बन्धमा निर्वाचन आयोगले विधिसम्मत निर्णय दिने बताएका छन्। शुक्रबार आधिकारिकता दाबी गर्न पुगेको संस्थापन (देउवा) पक्षका नेताहरूसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कांग्रेसको वैधानिकतामा कुनै विवाद नरहेको र ‘विशेष महाधिवेशन’का नाममा भएका गतिविधि पार्टीले नचिन्ने भन्दै आयोगको ध्यानाकर्षण गराएको छ। उनीहरूले ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण पेस गर्दै गगन थापा नेतृत्वको समूहलाई मान्यता नदिन आग्रह गरे।
जवाफमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ‘निर्वाचन आयोगले संविधान, ऐन र कानुनको परिधिमा रहेर मात्रै विश्लेषण गर्छ। विधि र पद्धतिबाहिर गएर आयोगले कुनै निर्णय गर्दैन।’ उनले निर्वाचन कार्यतालिका अनुसारका प्रक्रियामा सहभागी हुन समेत दललाई आग्रह गरे।
यसअघि गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस अन्तिम साता काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। थापा पक्षले आयोग पुगेर विवरण अद्यावधिक गर्न र आगामी निर्वाचनमा उम्मेदवारको मनोनयनमा गगन थापाको हस्ताक्षर चल्ने गरी निवेदन दिइसकेको छ।
देउवा पक्षले उक्त महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै आएको छ भने थापा पक्षले आफूहरूसँग बहुमत महाधिवेशन प्रतिनिधि रहेको दाबी गर्दै आएको छ। दुवै पक्षको दाबीपछि अब निर्वाचन आयोगको निर्णयलाई निकै चासोका साथ हेरिएको छ।

























