सांकेतिक तस्बिरकाठमाडौँ । भक्तपुरको मध्यपुर थिमिमा एक युवकले आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा डेरा गरी बस्ने २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिता भण्डारीको हत्या गरेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार शुक्रबार राति प्रविणले आमामाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी सरितालाई उपचारका लागि तत्काल भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भएका उनीहरू तेर्सेटारमा डेरा बस्दै आएका थिए। आमाको हत्या गरेपछि प्रविणले आफ्नै टाउकोमा समेत धारिलो हतियार प्रहार गरी आफूलाई घाइते बनाएका छन्। घाइते छोराको प्रहरी निगरानीमा उपचार भइरहेको छ। घरायसी विवाद वा अन्य कुनै कारणले हत्या भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

























