
काठमाडौं । लागुऔषध कारोबारीसँग २ लाख रुपैयाँ रकम असुलेको आरोपमा २ जना प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र प्रहरी जवान सुजन कार्की छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका दुवै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत कर्मचारी हुन्। लागुऔषधको अवैध कारोबारमा संलग्न व्यक्तिहरूसँग मिलेर रकम लिएको प्रारम्भिक सूचनाका आधारमा उनीहरूमाथि छानबिन सुरु गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले लागुऔषध कारोबारीसँग मोटो रकम लिएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

























