
झापा । चिनीमा लुकाएर ल्याइएको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) झापाबाट बरामद गरिएको छ ।
झापाको गौरीगन्ज गाउँपालिका–१ कुञ्जीबारीबाट ठूलो परिमाणमा ब्राउन सुगर बरामद भएको हो । प्रहरी चौकी कुञ्जीबारी र सशस्त्र प्रहरी बलको बीओपी कुञ्जीबारीबाट खटिएको संयुक्त टोलीले बिहीबार लागुऔषध बरामद गरेको हो ।
संयुक्त टोलीले भारतबाट नेपाल प्रवेश गरेको मे ३ प २९६८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोजेको थियो । प्रहरीलाई देख्नसाथ मोटरसाइकल छाडेर चालक फरार भएका थिए ।
मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा लेगार्डमा प्लास्टिकको झोलाभित्र रहेको चिनीमा प्लाष्टिकले पोको पारेर लुकाइछिपाइ ल्याइएको ब्राउन सुगर बरामद भएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चिनीभित्र लुकाएर ल्याइएको १०२ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
मोटरसाइकलसहित बरामद भएको ब्राउन सुगरलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मोटरसाइकल छाडेर फरार भएका चालकको पहिचान खुल्न बाँकी रहेको र खोजतलास तीव्र पारिएको प्रहरीले जनाएको छ ।

























