
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको प्रयोग गर्दा विशेष ध्यान पुर्याउन र यसको सम्मान कायम राख्न मातहतका पार्टी संरचनालाई परिपत्र गरेको छ। निर्वाचन परिचालन समितिका प्रमुख समेत रहेका उपसभापति विश्वप्रकाश शर्माले सातै प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रलाई यस्तो निर्देशन दिएका हुन्।
परिपत्रमा निर्वाचन आचारसंहिता बमोजिम प्रचार अभियानमा १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग नगर्न भनिएको छ। झन्डालाई सधैँ व्यक्तिको शिरभन्दा माथि हुने गरी सम्मानपूर्वक फहराउनुपर्ने उल्लेख गर्दै उपसभापति शर्माले उम्मेदवार वा प्रचारक कसैले पनि झन्डालाई शरीरमा ओढाउने कार्य नगर्न निर्देशन दिए।
“झन्डालाई पाखुरा, कम्मर वा घाँटीमा मफलर जस्तो बनाएर बेर्ने कार्यले झन्डाको अपमान हुन्छ, यस्तो कार्य बिल्कुलै नगर्नू,” परिपत्रमा भनिएको छ। साथै, चुनावी कार्यक्रम स्थल, प्रचार कार्यालय वा सवारी साधनमा राष्ट्रिय झन्डा प्रयोग गर्दा यसलाई पार्टीको झन्डाभन्दा माथि राखेर फहराउन कांग्रेसले आफ्ना कार्यकर्ताहरूलाई भनेको छ।

























