सांकेतिक तस्बीरविराटनगर । सुनसरी, उदयपुर र धनकुटाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधि र गाँजासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले धरान-१७ का निरबहादुर दर्जी र किरण मगरलाई १८० मिलिग्राम ब्राउन सुगर र ११९ पिस प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लियो। यस्तै, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-१९ का अविनाश चौधरीलाई ४३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरे।
त्यस्तै, उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले बा ९५ प ६२९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा त्रियुगा-११ का सविन राईको साथबाट १५० एम्पुल प्रतिबन्धित औषधि फेला पारेपछि उनलाई नियन्त्रणमा लिए। यता धनकुटाको सहिदभूमि-५ का रोहन राईलाई १३ किलो ४०० ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लियो। पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

























