
काठमाडौं । गाली गलौज गरेर तथ्यहीन अभिव्यक्ति दिँदै सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा युवराज सफल भनेर चिनिने युवराज पौडेल पक्राउ परेका छन् ।
महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ताको सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेको तथा नकारात्मक सामग्री फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले पौडेलविरुद्ध कानुनी कारबाही गर्न आवश्यक कदम चाल्न प्रहरीलाई पत्र पठाएको थियो ।
पत्र प्राप्त भए लगत्तै उनले महान्यायाधिवक्ता र कार्यालय सम्बन्धी तथ्यहीन भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी, एसपी पवनकुमार भट्टराईका अनुसार सफललाई पक्राउ गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ । प्रहरीले यस मामलामा थप प्रमाण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताएको छ ।

























