
कलैया । बाराको परवानीपुरमा एकै परिवारका आमा-छोराको हत्या भएको छ। परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बुधबार बिहानीपख उनीहरूको हत्या भएको बताए। आक्रमणबाट सुमित्राका ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको अहिले एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतककै बुहारी र अर्का एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवक माघ १२ गते (२६ जनवरी) मात्रै दुबईबाट नेपाल आएको खुलेको छ। उनी काठमाडौं ओर्लिएलगत्तै बारा पुगेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बुहारी र ती युवकबीचको अनैतिक सम्बन्धका कारण हत्या भएको आशंका गरिएको छ। परिवारका सदस्यले सम्बन्धबारे थाहा पाएपछि योजनाबद्ध रूपमा हत्या गरिएको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























