
काठमाडौँ। काठमाडौँको मूलपानीबाट प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको छ। रातिको समयमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना र नगद लुट्ने उजुरी परेपछि प्रहरी टोली गएराति परिचालन भएको थियो। सोही क्रममा मूलपानीमा लुटेरा समूहसँग जम्काभेट हुँदा उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले पक्राउको क्रममा गोली चलेको र १० जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे। प्रहरीले लुटेरा समूहबाट पीडित भएका व्यक्तिहरूलाई सम्पर्कमा आउन समेत अनुरोध गरेको छ।
घटनाको विस्तृत विवरण र पक्राउ परेकाहरूको परिचय केही समयमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

























