
गुल्मी। गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा ३ महिने शिशुको आफ्नै बाबुबाट हत्या भएको छ। हत्या आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुले दिएको जानकारी अनुसार मदिराको नशामा लठ्ठिएका सन्तबहादुरले आफ्नै शिशुलाई टिपेर भुइँमा पछारेका थिए। भुइँमा बज्रिएका शिशुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि सन्तबहादुरकी जेठी छोरी सरिताले हस्तीचौर प्रहरी चौकीमा खबर गरेकी थिइन्। लगत्तै प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको टोलीले आरोपित सन्तबहादुरलाई नियन्त्रणमा लिएको हो।
घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा विशेष टोली घटनास्थल पुगेको छ।

























