सांकेतिक तस्बिरकाठमाडौं। ललितपुरमा श्रीमतीको हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालय पुगी आत्मसमर्पण गरेका छन्। ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेको स्वीकार गर्दै प्रहरीमा आत्मसमर्पण गरेका हुन्।
शुक्रबार बिहान घटेको यस घटनामा विनोदले श्रीमतीको हत्यापछि टिकाभैरव प्रहरी चौकी पुगेर आफूले अपराध गरेको बताएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार मदिरा सेवनका क्रममा दुवैजना बीच विवाद भएको र सोही क्रममा विनोदले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन्।
श्रीमतीको हत्या गरेपछि उनले शवलाई खाटमा सुताएर आफू भने प्रहरीकहाँ पुगेका थिए। प्रहरीले घटनास्थल पुगेर खाटमा सुताइएको अवस्थामा शव फेला पारेको छ। हाल प्रहरीले यस घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

























