
सिरहा । खेतमा काम गरिरहेका बेला सिरहामा अज्ञात व्यक्तिले गोली हानेर १ जनाको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको शुक्रबार हत्या भएको हो ।
आफ्नै खेतमा ट्र्याक्टर चलाउँदै गर्दा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार गोली प्रहार हुनुअघि यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनारको खेतमा जोतिरहेका थिए ।
यादवको घटनास्थलमै यादवको मृत्यु भएको बताइएको छ । वडाध्यक्ष महेशकुमार यादवले भने, ‘खेत जोत्न गएका बेला उहाँमाथि गोली हानी हत्या गरिएको खबर प्राप्त भएको छ । मैले पनि घटनाबारे थप बुझ्दैछु र अस्पतालतर्फ जाँदैछु ।’
सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालले घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या भएको देखिएको बताए । ‘कसले र किन गोली हानेको भन्ने विषय हालसम्म खुल्न सकेको छैन । अनुसन्धान जारी छ,’ उनले भने ।
घटनापछि स्थानीय र परिवारजन स्तब्ध छन् । घटनामा संलग्नको पहिचान नखुलेको र खोजी थालेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यादवमाथि गोली प्रहार हुनुको कारण पनि खुलेको छैन ।

























