
काठमाडौं। नेपालसहित विश्वभर आज (सोमबार) विभिन्न कार्यक्रम गरी विश्व सिमसार दिवस मनाइँदैछ। मानवीय अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण सिमसार क्षेत्रहरू संकटमा पर्दै गएपछि यसबारे सचेतना जगाउन यो दिवस मनाउन लागिएको हो।
राष्ट्रिय सिमसार नीति, २०५९ ले नेपालका सिमसार क्षेत्रहरूलाई जैविक विविधताको महत्वपूर्ण खानीका रूपमा व्याख्या गरेको छ। तराईका सिमसार क्षेत्रमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चरा, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइने सरकारी तथ्याङ्क छ। यीमध्ये १५ प्रजातिका चराहरू अत्यन्तै दुर्लभ श्रेणीमा पर्छन्।
जैविक विविधताका साथै सिमसारले मानव समुदायका लागि प्राकृतिक सुरक्षा कवचको काम समेत गर्छ। यसले बाढी, पहिरो, अतिवृष्टि र अनावृष्टि जस्ता प्राकृतिक प्रकोपको जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुऱ्याउँछ। विश्वको करिब ३ अर्ब जनसङ्ख्याले उपभोग गर्ने चामल सिमसार क्षेत्रकै दलदले माटोमा उत्पादन हुने भएकाले यसलाई खाद्य सुरक्षाको आधार पनि मानिन्छ।
नेपालका १० वटा महत्वपूर्ण क्षेत्रहरू हालसम्म अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत भइसकेका छन्। सन् १९८७ मा पहिलो पटक कोसी टप्पु वन्यजन्तु आरक्ष सूचीकृत भएपछि बिसहजारी ताल, घोडाघोडी ताल, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड, गोक्यो, माइ पोखरी र पोखरा उपत्यकाका तालहरू यस सूचीमा थपिएका हुन्। यी १० क्षेत्रले नेपालको कूल ६० हजार ५६१ हेक्टर क्षेत्रफल ओगटेका छन्।
तर पछिल्लो समय सिमसार क्षेत्र मासिँदै गएकाले यसको संरक्षणमा चुनौती थपिएको छ। विशेषगरी सिमसार क्षेत्रमा हुने अनियन्त्रित मानवीय गतिविधि, प्रदूषण र अतिक्रमणले जलचर र चराहरूको बासस्थान असुरक्षित बन्दै गएको संरक्षणविद्हरूले बताए।

























