
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने बहिरंग (ओपिडी) सेवामा नयाँ सीमा तोकेको छ । पुस २४ मा बसेको बोर्डको निर्णय अनुसार अबदेखि ५ जनाको एक परिवारले वर्षभरिमा बढीमा २५ हजार रुपैयाँसम्मको मात्र बहिरंग सेवा पाउने छन् । यो नियम आगामी फागुन १ गतेदेखि लागु हुने बोर्डले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
नयाँ व्यवस्था अनुसार प्रति सदस्य ५ हजार रुपैयाँ बराबरको मात्र ओपिडी सेवा उपलब्ध हुनेछ । कूल १ लाख रुपैयाँको बिमा सुविधामध्ये बाँकी ७५ हजार रुपैयाँ उपयोग गर्नका लागि बिरामी अनिवार्य रूपमा अस्पतालको वार्डमा भर्ना हुनुपर्ने वा आकस्मिक (इमरजेन्सी) कक्षमा उपचार गराउनुपर्ने बोर्डले जनाएको छ ।
तर, ८ प्रकारका कडा रोगको हकमा भने हालको व्यवस्था बमोजिम प्रतिव्यक्ति वार्षिक २ लाख रुपैयाँको सुविधा यथावत् रहने छ ।
बोर्डका सूचना अधिकारी बिकेश मल्लका अनुसार वर्तमान आर्थिक संकट व्यवस्थापन गर्न र बिमा कोषको व्ययभार कम गर्न यो निर्णय गरिएको हो । बिमाको दुरुपयोग रोक्दै कोषको अवस्था सुध्रिएमा यो नियम परिवर्तन हुन सक्ने बोर्डको भनाइ छ ।
यता विज्ञहरूले भने बोर्डको यो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । पूर्व निर्देशक डा. सेनन्द्रराज उप्रेती र जनस्वास्थ्यविद् डा. शरद वन्तले यो निर्णय बिमाको मर्म र बिमितसँग गरिएको साबिकको सम्झौता विपरीत भएको बताएका छन् । ओपिडी सेवामा सीमा तोकिँदा नियमित जाँच र औषधि आवश्यक पर्ने दीर्घ रोगीहरू प्रत्यक्ष मर्कामा पर्ने र यसले नागरिकको स्वास्थ्य सेवामा पहुँच घटाउने उनीहरूको तर्क छ ।
हाल भुक्तानीमा देखिएको समस्याका कारण उपत्यकाका केही ठुला अस्पतालहरूले बिमा सेवा बन्द गरिरहेका बेला बोर्डले वित्तीय व्यवस्थापनका लागि यस्तो कदम चालेको बताइएको छ ।


























