
काठमाडौँ। नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक निर्देशिकाहरूका बारेमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक भोलि आइतबार बिहान ८ः३० बजे भर्चुअल माध्यम (जुम) मार्फत बस्ने तय भएको छ ।
बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गरिएको छ । बैठकका लागि मुख्य रूपमा तीन वटा एजेन्डाहरू तय गरिएका छन् जसमा आगामी निर्वाचनको तयारी र पार्टीको आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषयहरू रहेका छन् ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ माथि विस्तृत छलफल हुनेछ । यसका साथै पार्टीभित्रको अनुशासन कायम राख्न महत्वपूर्ण मानिने केन्द्रीय अनुशासन समिति गठनका बारेमा पनि बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।
बैठकले आगामी आम निर्वाचनका लागि पार्टीको रणनीतिक तयारी र साङ्गठनिक सुदृढीकरणका लागि आवश्यक मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

























