
काठमाडौं । विवादास्पद छविका मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि पक्राउ परेको खुलेको छ ।
उनी अहिले प्रहरी हिरासतमा छन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई काठमाडौंको चाल्नाखेल क्षेत्रबाट शुक्रबार पक्राउ गरेको थियो ।
विद्युतीय माध्यममार्फत निर्वाचनलाई प्रभाव पार्ने खालका अभिव्यक्ति दिएको भन्दै प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आयोगबाट प्राप्त पत्रका आधारमा अनुसन्धान सुरु गरेको हो ।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार प्रसाईंले सामाजिक सञ्जाल तथा अन्य विद्युतीय प्लेटफर्ममार्फत निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको आशंकामा म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार प्रसाईंको गतिविधिले आसन्न निर्वाचनलाई प्रभावित पार्न सक्ने जोखिम देखिएपछि निगरानी बढाइएको थियो ।
पक्राउ हुनुअघि प्रसाईं र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको तथ्य बाहिर आएको छ । उच्च सुरक्षा स्रोतका अनुसार माघ २२ गते भक्तपुरमा दुबैबीच भेट भएको थियो । भेटपछि प्रसाईं वीरगन्जमा कार्यक्रमका लागि जाने तयारीमा थिए ।
वीरगन्जमा हुने भनिएको कार्यक्रममार्फत फागुन २१ मा हुने निर्वाचन बिथोल्ने अभियान सुरु हुन सक्ने सूचनाका आधारमा सुरक्षा संयन्त्रलाई सतर्क बनाइएको थियो । यही सूचनापछि उच्च तहमा छलफल गरी प्रसाईंलाई नियन्त्रणमा लिने निर्णय भएको प्रहरी स्रोतको दाबी छ ।
एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र साह (बालने) उनका मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
यही राजनीतिक पृष्ठभूमिमा प्रसाईंको गतिविधि र अभिव्यक्तिलाई संवेदनशील रूपमा हेरिएको सुरक्षा निकायको बुझाइ छ । प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पक्राउ परिसकेका छन् ।
माघ ५ गते पोखराबाट पक्राउ परेका उनी सार्वजनिक शान्ति विरुद्धको कसुरमा काठमाडौं प्रहरीले बयान लिएपछि हाजिर जमानीमा रिहा भएका थिए । त्यस क्रममा उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विषयमा निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको भन्ने दाबी सार्वजनिक रूपमा गरेका थिए । जसले राजनीतिक वृत्तमा विवाद निम्त्याएको थियो ।
यसअघि २०८१ मंसिर ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित १ टेलिकम कम्पनीमा लगानी रहेको आरोप सार्वजनिक गरेपछि पनि प्रसाईं पक्राउ परेका थिए । त्यस बेला उनले ओलीको लगानीसम्बन्धी कागजात प्राप्त गर्न आफूले १ करोड रुपैयाँ बुझाएको दाबी गर्दै पत्रकार सम्मेलन गरेका थिए ।
सो घटनापछि ओलीकै निर्देशनमा आफू पक्राउ परेको भन्दै प्रसाईंले असन्तुष्टि जनाएका थिए । उक्त प्रकरणमा ओलीविरुद्ध फर्जी कागजात तयार गरी सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा प्रसाईंमाथि लिखत किर्ते, साइबर अपराध, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको थियो ।
पहिले निकट सम्बन्ध रहेको बताइने ओली र प्रसाईंबीच पछिल्लो समय चर्किएको विवादका बीच हालै भएको भेटवार्ताले नयाँ प्रश्नहरू खडा गरेको छ । ओलीमाथि गम्भीर आरोप लगाएर राजनीतिक रूपमा टाढिएका प्रसाईं किन फेरि भेटघाटमा पुगे भन्ने विषयमा विभिन्न अड्कल भइरहेका छन् । तर, सो भेटको ठोस उद्देश्यबारे दुवै पक्षबाट औपचारिक धारणा सार्वजनिक भएको छैन ।
हाल प्रसाईं प्रहरी हिरासतमा छन् । साइबर ब्युरोले उनको अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि तथा सम्भावित राजनीतिक उद्देश्यबारे विस्तृत अनुसन्धान गरिरहेको छ । निर्वाचनको संवेदनशील समय भएकाले अनुसन्धान निष्कर्षले थप कानुनी प्रक्रिया र राजनीतिक प्रभाव पार्न सक्ने देखिएको छ ।

























