
विराटनगर । मोरङको सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दुवै जनालाई सोमबार साँझ ६ बजेतिर पक्राउ गरेको हो । लिम्बूको घरमा हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी पुगेको थियो ।
प्रहरीले घर खानलतासी गर्ने क्रममा लिम्बू सुत्ने कोठाभित्र मेड इन यूएसए लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र २ थान हेण्डसेट फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार सोधपुछका क्रममा लिम्बूले उक्त हतियार गुरुङबाट लिएको बताएका थिए ।
त्यसलगत्तै प्रहरीले गुरुङलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । उनीहरुले हतियार कहाँबाट र के प्रयोजनका लागि ल्याएका हुन् भनेर यकिन हुन बाँकी रहेको जानकारी डीएसपी चौधरीले दिए ।
पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

























