
दार्चुला । दार्चुलामा नेपाल प्रहरीका १ जना हवल्दार मृत अवस्थामा फेला परेका छन् । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको आशंका गरिएको छ ।
महाकाली नगरपालिका–४ बांगाबगडमा रहेको सामुदायिक प्रहरी केन्द्रमा कार्यरत घर्ती सोही स्थानको १ होटल पछाडि मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी दिँदै महाकाली नगरपालिका–४ का वडाध्यक्ष जगतबहादुर चुनाराले होटल पछाडिको एकान्त स्थानमा घर्तीको शव भेटिएको पुष्टि गरे ।
प्रहरीका अनुसार घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा सामान्य मृत्यु नभई हत्या गरिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ । घर्तीको शरीरमा देखिएका चोटपटक र शव भेटिएको अवस्थाले घटनालाई शंकास्पद बनाएको प्रहरीको भनाइ छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।
हवल्दार घर्तीको हत्या कसले र किन गर्यो भन्ने विषय पत्ता लगाउन अनुसन्धान सुरु भएको छ । घटनास्थल आसपासमा फेला परेका प्रमाण, स्थानीयले दिएको जानकारी र हवल्दार घर्तीको पछिल्लो गतिविधिबारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरी कर्मचारी रहस्यमय अवस्थामा मृत्यु भएपछि स्थानीयस्तरमा त्रास र चासो बढेको छ । अनुसन्धानबाट पत्ता लगाएर सत्य तथ्य छिट्टै सार्वजनिक गरिने प्रहरीले उल्लेख गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

























