
चितवन । इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप महत बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।
इन्स्पेक्टर महतले आफूलाई २०८२ भदौमा बलात्कार गरेको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्। पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीले पुष्टि गरे।
पीडित महिलाका अनुसार इन्स्पेक्टर महतले उनलाई खैरहनी क्षेत्रकै एउटा होटलमा बोलाएर जबर्जस्ती करणी गरेका थिए। प्रहरीले उनीमाथि जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनाको विस्तृत विवरण र प्रमाण संकलनका लागि अनुसन्धान भइरहेको चितवन प्रहरीले बताएको छ।

























