
काठमाडौँ। अख्तियार प्रमुख प्रेमकुमार राईसहित मुलुकका १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईएनजी) का प्रमुख प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। उनलाई फिलिपिन्सबाट पक्राउ गरी इन्टरपोल र नेपाल प्रहरीको संयुक्त टोलीले काठमाडौँ ल्याएको हो।
काभ्रेपलाञ्चोकको तेमाल–१ सर्स्युंखर्कका ३३ वर्षीय पाठकले आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्दै भिआइपीहरूलाई धम्कीपूर्ण पत्र र भिडियो सन्देश पठाएका थिए। उनको धम्कीको सूचीमा अख्तियार प्रमुख राई, पूर्वगृहमन्त्रीहरू रमेश लेखक र बालकृष्ण खाँण, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र नेपाल प्रहरीका पूर्वआईजीपीहरू समेत रहेका थिए।
पाठक गत भदौ २ गते भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए। उनलाई फिलिपिन्सको अध्यागमन विभागले गत पुस १९ गते बुलाकान प्रान्तको मालोलोस सिटीबाट पक्राउ गरेको थियो। नेपाल प्रहरीको अनुरोधमा उनीविरुद्ध इन्टरपोलबाट ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो।
पाठकले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साउने र हतियारमा पहुँच रहेको दाबी गर्दै आतंक सिर्जना गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। काठमाडौँ ल्याइएका उनीमाथि अब जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको कसुरमा विस्तृत अनुसन्धान अघि बढाइने परिसरले जनाएको छ।

























