
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा (एमाले)का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
उच्च अदालत पाटनमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो । रायमाझी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको हो । न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको थियो ।
हाल स्थगित भएपछि सुनसाइका लागि अर्को पेसी तोकिने छ । यसअघि रायमाझी र झाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ (२) बमोजिम थुनामुक्त गरिपाऊँ भन्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएका थिए ।
उक्त दफा बमोजिम थुनामा रहेको अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने मनासिब आधार देखिएमा मुद्दा जुनसुकै अवस्थामा पुगेको भए पनि अदालतले सुनुवाइ गरी थुनामुक्त गर्न सक्ने छ । पुस २५ गते रायमाझीले सोही कानुनी व्यवस्थालाई टेकेर जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।
तर, जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले दफा ७१ (२) अन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध रायमाझी उच्च अदालत पाटन पुगेका हुन् ।
यसैगरी भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झाले पनि जिल्ला अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि पुस ११ गते उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए । दुवैको निवेदन एउटै इजलासमा एकैसाथ सुनुवाइका लागि पेसी तोकिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संगठित रूपमा नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको आरोपमा विभिन्न राजनीतिक व्यक्तित्व, पूर्वप्रशासक र बिचौलियाविरुद्ध मुद्दा दर्ता भएको छ । बहुचर्चित उक्त प्रकरणसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन छ ।

























