
विराटनगर । सर्लाहीको सदरमुकाम मलंगवामा गोली हानेर सब–इन्जिनियरको हत्या भएपछि प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ ।
पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सब–इन्जिनियर प्रमोदकुमार यादवको आइतबार साँझ गोली हानेर हत्या गरिएको छ । उनीमाथि गोली हान्नेको पहिचान हुन बाँकी छ ।
घटनापछि प्रहरी प्रधान कार्यालयले उपत्यका लगायत ७ वटै प्रदेशमा सुरक्षा व्यवस्था भरपर्दो बनाउन विशेष निर्देशन दिएको छ । यस्ता अपराधिक घटनाले आगामी फागुन २१ गतेको निर्वाचनलाई समेत असर पुर्याउन सक्ने प्रहरीले विश्लेषण छ ।
प्रहरीका अनुसार मलंगवा नगरपालिका–१० मा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले यादवमाथि गोली प्रहार गरेका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
घटनापछि मलंगवा क्षेत्र त्रसित बनेको छ । घटनाको प्रकृति हेर्दा योजनाबद्ध आक्रमण भएको आशंका गरिएको छ । प्रहरी स्रोतका अनुसार हतियारधारीहरु मोटरसाइकल प्रयोग गरी घटनास्थलमा पुगेका थिए र गोली प्रहार गरी फरार भए ।
घटनापछि सर्लाहीलगायत आसपासको जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । आवश्यक प्रमाण संकलन र आसपासका सीसीटीभी फुटेजको विश्लेषण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागले उपत्यकालगायत ७ वटै प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरूलाई विशेष निर्देशन जारी गरेको छ । ‘यस प्रकारका लक्षित हत्या वा आपराधिक घटनाहरू अन्य स्थानमा पनि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता उच्च बनाइयोस् । सरकारी कार्यालयमा कार्यरत प्राविधिक कर्मचारी, इन्जिनियर तथा संवेदनशील निकायमा कार्यरत कर्मचारीहरूको सुरक्षामा विशेष ध्यान दिइयोस्,’ निर्देशनमा भनिएको छ ।
निर्देशन अनुसार सबैतिर प्रहरी गस्ती र चेकजाँच बढाएर शंकास्पद गतिविधिमाथि निगरानी बढाउनुपर्ने छ । भिडभाड हुने स्थान, सरकारी कार्यालय र सार्वजनिक स्थलहरूमा प्रहरी उपस्थिति सुदृढ गर्न निर्देशन दिइएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार पछिल्ला दिनमा तराई–मधेश क्षेत्रका केही जिल्लामा व्यक्तिगत रिसइबी, ठेक्कापट्टा विवाद तथा अन्य आर्थिक कारणबाट लक्षित आक्रमणका घटना देखिन थालेको छ । यस्ता घटनालाई गम्भीर रूपमा लिइएको प्रहरीले जनाएको छ । ७ वटै प्रदेशका प्रहरी कार्यालयलाई आआफ्नो क्षेत्रभित्र संवेदनशील बिन्दु पहिचान गरी पूर्वतयारीसहित सुरक्षा रणनीति लागू गर्न निर्देशन दिइएको छ ।
मृतक प्रमोदकुमार यादव जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत थिए । स्थानीयस्तरमा विकास आयोजनासँग जोडिएका विषयहरू, ठेक्का प्रक्रियासम्बन्धी विवाद वा व्यक्तिगतमध्ये कुन कारणले घटना भएको हो भन्ने बारेमा प्रहरी अनुसन्धान केन्द्रित छ ।
यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन पूर्वसतर्कता अपनाउन तथा शंकास्पद व्यक्तिहरूको पहिचान गरी निगरानी बढाउन र सूचना संकलन प्रणाली सुदृढ गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन छ । घटनाले सर्लाही मात्र नभएर देशमै सुरक्षा संवेदनशीलता बढाएको प्रहरीको निष्कर्ष छ ।
प्रहरीले कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अपिल गरेको छ । मलंगवा घटनाले फेरि एकपटक तराई क्षेत्रमा लक्षित आक्रमणका घटनाप्रति राज्यको ध्यानाकर्षण गराएको छ ।

























