
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत समाचार सम्प्रेषण गरेको भन्दै ‘सेतोपाटी’ अनलाइनमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगले सोमबार प्रेस काउन्सिल नेपाललाई पत्र लेख्दै उक्त अनलाइनमाथि आवश्यक कारबाही गर्न अनुरोध गरेको हो।
सेतोपाटीले फागुन ३ गते ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो’ र फागुन ४ गते ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। यी समाचारहरूले निर्वाचन आचारसंहिता २०८२ को उल्लंघन गरेको आयोगको निष्कर्ष छ।
आचारसंहिताको दफा ४ को खण्ड (त) अनुसार उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म कसैको पक्ष वा विपक्षमा मत सर्वेक्षण गर्न वा त्यसको परिणाम घोषणा गर्न पाइँदैन। त्यस्तै, दफा २५ ले सञ्चारमाध्यमलाई कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन गर्न रोक लगाएको छ। यी व्यवस्थाको प्रतिकूल कार्य गरेको भन्दै आयोगले सेतोपाटीमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यसअघि आजै चितवन–३ की उम्मेदवार रेनु दाहालले पनि उक्त समाचारप्रति कडा आपत्ति जनाएकी थिइन्। निर्वाचनको मुखमा भ्रामक र पूर्वाग्रही ढङ्गले समाचार आएको भन्दै राजनीतिक वृत्तमा समेत यसबारे चर्चा सुरु भएको छ।

























