जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली कुखुराको खोरबाट बरामद, लुटपाटमा संलग्न पक्राउ

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १६:२१

झापा । झापाको कन्काई नगरपालिका–८ मिश्रा टोलमा लागुऔषध र अवैध हातहतियार लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले कुखुराको खोरभित्र राखिएको अवस्थामा पेस्तोल र गोली फेला पारेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पेस्तोल, म्याग्जिन र ४० राउण्ड गोली बरामद भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार पेस्तोल र गोली गत भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पुष्टि भएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट आइतबार खटिएको डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले तुलबहादुर थापा मगरको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा तुलबहादुरका छोरा २२ वर्षीय छोरा सौगात थापा मगरले आफ्नै घर पछाडि रहेको कुखुराको खोरभित्र प्लास्टिकको ड्रममा लुकाइछिपाइ राखेको अवस्थामा सीएफ ९८९ एमएम पेस्तोल १ थान, पेस्तोलको म्याग्जिन १ थान र ४० राउण्ड गोली बरामद भएको डीएसपी खड्काले बताए ।

उनका अनुसार उक्त हतियार र गोली गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आक्रमण गरी लुटिएको पत्ता लागेको हो । जेनजी आन्दोलनको क्रममा प्रदर्शन उग्र बन्दा केही व्यक्तिहरूले प्रहरी कार्यालयमा आक्रमण गरी हतियार लुटपाट गरेका थिए ।

हतियार लुटपाटमा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । हतियार लुटपाटमा संलग्न सौगात थापा मगर भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । राजवंशी र थापा मगरको समूहले लुटपाट गरेको हतियार र गोली थापा मगरको घरमा लगेर कुखुराको खोरमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको डीएसपी खड्काले बताए ।

पक्राउ परेका राजवंशीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । हतियार लुटपाटमा संलग्न अन्य व्यक्तिको पहिचान तथा नेटवर्क पत्ता लगाउन थप अनुसन्धान भइरहेको जानकारी खड्काले दिए । प्रहरीले अवैध हातहतियार लुकाउने, ओसारपसार गर्ने तथा सुरक्षाकर्मीमाथि आक्रमण गरी हतियार लुट्ने कार्य गम्भीर आपराधिक कसुर भएको उल्लेख गर्दै संलग्न सबैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।

प्रहरीका अनुसार लागुऔषध र हतियारको सूचनाबाट सुरु भएको कारबाहीले अप्रत्याशित रूपमा अघिल्लो आन्दोलनका क्रममा लुटिएको हतियार बरामद गराएको हो । झापामा पछिल्लो समय लागुऔषध र अवैध हातहतियार सम्बन्धी गतिविधि बढ्दै गएको सूचना आएसँगै प्रहरीले विशेष निगरानी बढाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.