
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट सोमबार दिउँसो लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित २ जना युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले १ बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेको बा ९८ प ७२१३ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । त्यस क्रममा मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेका २२ वर्षीय अमित धिमालले मलद्वारमा लुकाएर ल्याएको खैरो हिरोइनजस्तो देखिने पदार्थ ४.८३ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा देखिएपछि शरीर जाँच गर्दा उक्त लागुऔषध बरामद भएको हो । मोटरसाइकल चालक उर्लाबारी–३ कै २७ वर्षीय रविन लिम्बूलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल र उनीहरुको साथमा रहेको २ वटा मोबाइलसमेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























