विद्यालय सुधार अभियानमा समुदायको साथ, एउटै परिवारबाट एक लाख सहयोग

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १८, बुधबार १२:१७

दिंला । भोजपुरको षडानन्द नगरपालिका–८ सेमेङमा समुदायको सक्रियतामा विद्यालय सुधार अभियानलाई तीव्र पारिएको छ । अभियानमा समुदायको भरपुर साथ मिलेको छ ।

चण्डेश्वरी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार तथा शैक्षिक सामग्री व्यवस्थापनका लागि स्थानीय समुदाय, पूर्वविद्यार्थी तथा निजी स्रोतबाट आर्थिक सहयोग जुटाउनलाई अभियान सञ्चालन गरिएको हो । उक्त अभियान पछिल्लो समय निक्कै प्रभावकारी बन्दै गएपछि विद्यालयलाई सहयोग गर्ने क्रम पनि तीव्र बनेको छ ।

Advertisement

विक्रम संवत २०१६ सालमा स्थापना भएको विद्यालयको भौतिक अवस्था कमजोर बन्दै गएर आवश्यक शैक्षिक सामग्रीको अभावसमेत देखिन थालेपछि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सुधार कार्यलाई अगाडि बढाउने पहल गरिएको हो । समितिका अध्यक्ष पीताम्बर श्रेष्ठको नेतृत्वमा सुरु गरिएको अभियानले विद्यालयलाई पुनः सुदृढ र व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।

यसै अभियानअन्तर्गत एउटै परिवारबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । विद्यालय स्थापनाकालदेखि नै योगदान गर्दै आएका स्वर्गीय हर्कबहादुर श्रेष्ठको स्मृतिमा उनकी धर्मपत्नी नरमाया श्रेष्ठले विद्यालयको शैक्षिक उन्नयनमा टेवा पुर्‍याउने उद्देश्यसहित परिवारका तर्फबाट एक लाख रूपैयाँ सहयोग प्रदान गरेकी हुन् । स्थानीयस्तरमा विद्यालयको स्थापना र सञ्चालनमा स्वः श्रेष्ठको महत्वपूर्ण योगदान रहेको थियो ।

उक्त सहयोग रकम विद्यालय व्यवस्थापन समितिको बैठकमा मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । विद्यालयमा चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्न भएपछि आगामी शैक्षिक सत्रको तयारीका लागि बसेको बैठकमा षडानन्द नगरपालिका–८ का कार्यवाहक वडाध्यक्ष विकास श्रेष्ठको रोहबरमा विद्यालयकी प्रधानाध्यापक आकांक्षा तामाङलाई नरमाया श्रेष्ठ स्वयं उपस्थित भएर एक लाखको चेक हस्तान्तरण गरिन् ।

विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतिको उद्देश्यले पूर्वविद्यार्थी, शिक्षक तथा शिक्षाप्रेमीहरूबाट समेत सहयोग जुट्ने क्रम जारी रहेको व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले बताए । यसै क्रममा सेमेङ निवासी तथा पूर्वविद्यार्थीहरू गनु साम्पाङ राई, बलबहादुर विश्वकर्मा र दीपक विश्वकर्माले जनही १० हजारका दरले र चण्डी कार्कीले ५ हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् ।

हालसम्म उक्त अभियानमार्फत विद्यालयको खातामा एक लाख पैँचिस हजार नगद जम्मा भइसकेको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए । विद्यालय सुधारको प्रारम्भिक चरणमै उल्लेखनीय आर्थिक आधार तयार भएको छ ।

त्यसैगरी, सेमेङ निवासी पूर्वविद्यार्थी राजाराम श्रेष्ठ र उनकी पत्नी सुप्रिमा श्रेष्ठले २१ हजार एक सय रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, पूर्वप्रधानाध्यापक डिल्लीबहादुर श्रेष्ठले पनि १० हजार रूपैयाँ योगदान गर्ने घोषणा गरेका छन् । प्रतिबद्धतासहित थप सहयोग जुटाउने क्रम निरन्तर जारी रहेको विद्यालयले जनाएको छ ।

संकलित आर्थिक स्रोतलाई योजनाबद्ध रूपमा उपयोग गर्ने गरी विद्यालय व्यवस्थापन समितिले स्पष्ट कार्ययोजना बनाएको छ । उक्त रकमबाट कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्रीहरूको व्यवस्थापन गरिनेछ । साथै, बाँकी रकम विद्यालयका जीर्ण कक्षा कोठाहरूको मर्मत सम्भार, रंगरोगन तथा सौन्दर्यीकरणमा खर्च गरिनेछ ।

त्यस्तै, विद्यालयमा दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाउन भान्सा कोठाको सुधार र खाने स्थानको उचित व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ । विद्यालयको स्वच्छता तथा विद्यार्थीमैत्री वातावरण सुनिश्चित गर्न शौचालय मर्मत तथा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठका अनुसार भौतिक सुधारात्मक कार्यहरू सम्पन्न भएपछि विद्यालयको शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । ‘भौतिक पूर्वाधार मजबुत भएपछि पठनपाठन सहज हुन्छ । विद्यार्थीको उपस्थिति र सिकाइ गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ,’ उनले भने ।

स्थानीय, पूर्वविद्यार्थी, पूर्वशिक्षक तथा शुभचिन्तकहरूको सक्रिय सहभागिताले सार्वजनिक विद्यालयप्रतिको नकारात्मक धारणा क्रमशः घट्दै जाने र समुदायको अपनत्व अझ बढ्ने अपेक्षा गरिएको छ । विद्यालयलाई सामुदायिक सहकार्यको उदाहरणका रूपमा विकास गर्ने लक्ष्यसहित सुरु गरिएको सुधार अभियानले दीर्घकालीन रूपमा शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

चण्डेश्वरी आधारभूत विद्यालयको पहलले ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरूलाई पनि समुदायको सहयोगबाट पुनर्जीवित गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । नगरपालिकाभित्र भए पनि उक्त विद्यालय दुर्गम एवं ग्रामीण क्षेत्रमै पर्छ । स्थानीय स्तरमै जुटेको सानो–ठूलो सहयोगले विद्यालयको संरचना र शिक्षण वातावरणमा ठूलो परिवर्तन ल्याउन सक्ने उदाहरणका रूपमा अभियानलाई हेरिएको छ ।

सामूहिक प्रयास र सहकार्यको बलमा नयाँ शैक्षिक यात्रातर्फ कदम चाल्दै आफ्नो अवस्था सुधार गर्ने दिशामा चण्डेश्वरी आधारभूत विद्यालय अघि बढेको छ । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि गरिएको सकारात्मक एवं सामूहिक प्रयासमा स्थानीय समुदाय एकजुट भएको छ ।

तपाइको प्रतिक्रिया
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
देवानगन्जका प्रहरी प्रमुख पनि जिम्मेवारीबाट हटाइए
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकिएको छः भारतीय विदेश मन्त्रालय
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेस
सुनसरी घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
प्रशासकीय अदालतमा मुद्दाको चाप ह्वात्तै बढ्यो
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×