
एजेन्सी । लेबनान र इजरायलबीच १० दिनका लागि अस्थायी युद्धविराममा सहमति भएको छ । यो सहमति बिहीबार रातिदेखि लागू भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गर्दै ३४ वर्षपछि भएको औपचारिक संवादसँगै यो महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । उनका अनुसार यो अवधि दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने समयका रूपमा हेरिएको छ । यदि यसबीच कुनै उल्लंघन नभए दीर्घकालीन शान्तिको सम्भावना बढ्ने छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सकारात्मक वार्ता भएको उल्लेख गरेका छन् । उनले यसलाई आफ्नो मध्यस्थतामा भएको अर्को महत्वपूर्ण समाधानका रूपमा प्रस्तुत गर्दै दुवै नेतालाई ह्वाइट हाउसमा निमन्त्रणा गर्ने योजना रहेको बताएका छन् ।
यसअघि वासिङ्टन डीसीमा दुवै देशका प्रतिनिधिबीच प्रत्यक्ष भेटवार्ता भएको थियो । सन् १९८३ पछि भएको यो पहिलो महत्वपूर्ण संवाद मानिएको छ ।
लेबनानका राष्ट्रपति औनले युद्धविरामका लागि पहल गरेकोमा ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै क्षेत्रीय स्थायित्वका लागि प्रयास जारी रहने बताएका छन् । साथै, लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्ण रूपमा हतियार त्याग्न मनाउने प्रयास गरिरहेको जनाएको छ ।
उता हिजबुल्लाहका नेता हसन फदलल्लाहले इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्छ वा रोक्दैन भन्ने आधारमा आगामी रणनीति तय हुने बताएका छन् । दुवै पक्षबीच भएको यो छोटो अवधिको युद्धविरामले मध्यपूर्वमा तनाव कम हुने अपेक्षा गरिएको छ । तर, दीर्घकालीन शान्ति कायम रहन्छ वा रहँदैन भन्ने अझै अनिश्चित छ ।



















