
विराटनगर । महिलाहरूलाई लक्षित गरी सुनसरीको बर्जू गाउँपालिकामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजना तथा विराट नर्सिङ होमको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
शिविरमा नर्सिङ होमका वरिष्ठ स्त्रीरोग विशेषज्ञ (गाइनोलोजिस्ट) डा. दीपक यादवको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले स्वस्थ महिला, स्वस्थ परिवार र समृद्ध समाजको आधार भएको बताए । उनले महिलाहरू आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्नेमा जोड दिँदै नियमित स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्न आग्रह गरे ।
त्यस्तै, उद्योग संगठन मोरङ महिला उद्यम समितिकी इन्चार्ज किरण ब्यासले समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सचेतनामूलक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
समितिकी संयोजक जयन्ती आचार्यले महिलाहरूमा क्यान्सर जस्ता गम्भीर रोगप्रति सचेतना जगाउन, समयमै रोगको पहिचान गर्न र आवश्यक उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बताइन् ।
बर्जू गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले महिलाहरूको स्वास्थ्य संरक्षण स्थानीय तहको प्रमुख प्राथमिकतामध्ये एक भएको उल्लेख गरे । उनले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरूमा स्वास्थ्य सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष नीतुकुमारी चौधरीले स्वास्थ्य सुरक्षाप्रति महिलाहरूमा सकारात्मक सोचको विकास हुनुपर्ने बताउँदै शिविरमा सहभागी महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सधैँ सचेत रहन आग्रह गरिन् ।
नर्सिङ होमकी प्रतिनिधि एवं महिला समिति सदस्य विमला थापाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच हुनुपर्ने बताइन् । उनले ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गरी आगामी दिनमा अन्य स्थानहरूमा यस्ता स्वास्थ्य शिविरहरू गर्ने जानकारी दिइन् । शिविरबाट बर्जू क्षेत्रका ठुलो संख्यामा महिलाहरू लाभान्वित भएका छन् ।

























