
सर्लाही । सर्लाहीस्थित भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत (छैटौँ) तुलाकान्त चौधरी पक्राउ परेका छन् ।
उनीहरु घुसबापत लिएको रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ र मोटर जडानसम्बन्धी काम सम्पन्न भएपछि भुक्तानी प्रक्रिया मिलाइदिने नाममा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
सोही सूचनाको आधारमा अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले ढकाल र चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी अख्तियारले दिएको छ ।

























