
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन दोस्रो हप्ता भएको साम्प्रदायिक झडप र त्यसपछिको सुरक्षा कारबाहीले नेपालको आन्तरिक शान्ति सुरक्षामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नेपालको धार्मिक सहिष्णुता र शान्तिको छविमा गम्भीर धक्का पुर्याएको छ।
सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपककुमार साहको नेतृत्वको समितिले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनले घटनाको मुख्य कारकका रूपमा सामाजिक सञ्जालको गैरजिम्मेवारपूर्ण प्रयोग र राजनीतिक नेतृत्वको विवादास्पद अभिव्यक्तिलाई औंल्याएको छ।
प्रतिवेदनको बुँदा नम्बर १३ ले सामाजिक सञ्जाल र राजनीतिक प्रभावलाई घटना उत्कर्षमा पुग्नुको प्रमुख कारण मानेको छ। कप्तानगञ्ज घटनापछि विभिन्न राजनीतिक व्यक्तित्व, स्थानीय अगुवा र अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका अभिव्यक्तिले वातावरणलाई थप उत्तेजित र संवेदनशील बनाएको प्रतिवेदनको ठहर छ।
विशेष गरी सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लालविक्रम थापा, तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा स्थानीय चन्दन मेहता, कुन्दन मेहता र रामकुमार मेहताका सामाजिक सञ्जालका गतिविधि एवं सार्वजनिक अभिव्यक्तिहरूलाई अनुसन्धानको घेरामा राख्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ। उनीहरूले फैलाएका सूचना वा व्यक्त गरेका धारणाले जनमानसलाई शान्त पार्नुको सट्टा झन् भड्काउने काम गरेको आरोप लागेको छ।
सामाजिक सञ्जालमा कसैको हातखुट्टा काटिएको वा बाहिरबाट व्यावसायिक सुटरहरू आएको जस्ता अपुष्ट र कपोलकल्पित अफवाह फैलाइएकाले सर्वसाधारणमा त्रास र प्रतिशोधको भावना फैलिएको थियो। यस्ता उत्तेजक सामग्रीका कारण सानो स्थानीय विवादले साम्प्रदायिक रूप लिएको देखिएकाले ती दाबीहरूको तथ्यगत प्रमाणीकरण गरी दोषीमाथि कानुनी कारबाही गर्न प्रतिवेदनले जोड दिएको छ।
यो आन्तरिक द्वन्द्व स्थानीय स्तरमा मात्र सीमित रहेन। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यसलाई नेपालको फेरिँदो सामाजिक चरित्रका रूपमा व्याख्या गर्न थालेका छन्। प्रतिवेदन अनुसार सुनसरी घटनालाई विश्वप्रसिद्ध समाचार एजेन्सी ‘रोयटर्स’ले साम्प्रदायिक हिंसाको रूपमा परिभाषित गर्दै विशेष प्राथमिकताका साथ सम्प्रेषण गरेको छ। धार्मिक झण्डा र ठूलो आवाजको विवादबाट सुरु भएको झडपले कसरी साम्प्रदायिक रूप लियो र तीन जनाको ज्यान लियो भन्ने विषयलाई रोयटर्सले उजागर गरेको छ।
त्यसैगरी छिमेकी देश भारतको प्रतिष्ठित सञ्चार माध्यम टाइम्स अफ इन्डियाले पनि सुनसरीबाट सुरु भएको तनाव मधेशका अन्य जिल्लाहरूमा फैलिएको र सरकारले कडा कर्फ्यु लगाउनुपरेको समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेको छ।अन्तर्राष्ट्रिय मिडियामा नेपालको पहिचान शान्त देशबाट बदलिएर साम्प्रदायिक रूपमा विभाजित देशका रूपमा हुन थालेको प्रतिवेदनमा उल्लेख छ। यसले दीर्घकालीन रूपमा नेपालको ‘सफ्ट पावर’ लाई क्षति पुर्याउने चिन्ता व्यक्त गरिएको छ।
नेपालको अन्तर्राष्ट्रिय पहिचान मुख्यतया शान्तिपूर्ण पर्यटन गन्तव्यका रूपमा स्थापित छ। सगरमाथा, बुद्ध र धार्मिक सहिष्णुता नै विदेशी पर्यटकलाई आकर्षित गर्ने मुख्य आधार हुन्। तर विदेशी पर्यटकका लागि धार्मिक झडप, सडक बन्द, आगजनी र सुरक्षा बलले गोली चलाएको समाचारले मनोवैज्ञानिक रूपमा नेपाल असुरक्षित छ भन्ने सन्देश दिएको प्रतिवेदनले औंल्याएको छ।
अमेरिकी विदेश मन्त्रालयले अहिले नेपाललाई थप सतर्कता अपनाउनुपर्ने देशको सूचीमा राखेको छ। यसको मुख्य कारण धार्मिक द्वन्द्व मात्र नभई बढ्दो राजनीतिक अस्थिरता र स्थानीय अशान्ति पनि हो। यस्ता घटनाहरू दोहोरिइरहे नेपालको पर्यटन क्षेत्रले अपूरणीय क्षति व्यहोर्नुपर्ने देखिन्छ।
त्यस्तै भारतसँग जोडिएको सीमा क्षेत्रमा भएको यो तनावले सुरक्षा चासो पनि बढाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार सुनसरी घटनापछि बिहारको मधुवनी लगायतका सीमावर्ती क्षेत्रमा भारतीय पक्षले सुरक्षा सतर्कता बढाएको छ। यसले नेपालको आन्तरिक समस्या अब सीमापार सुरक्षा संवेदनशीलताको विषय बनेको सङ्केत गर्छ।
प्रतिवेदनले सबैभन्दा ठूलो खतराका रूपमा नेपाललाई धार्मिक ध्रुवीकरणतर्फ जाँदै गरेको देश भनेर बुझिनुलाई मानेको छ। सानो स्थानीय विवादलाई धार्मिक पहिचानसँग जोड्ने, सामाजिक सञ्जालमा उत्तेजित बनाउने, भीड जम्मा गर्ने र हिंसा भड्काउने डरलाग्दो चक्र निर्माण भएको छ। यो चक्रले नेपालको वर्षौँदेखिको सामाजिक सुमधुरतालाई नष्ट गरिरहेको छ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पनि नेपालमा अल्पसङ्ख्यकको अधिकार र धार्मिक स्वतन्त्रताको विषयलाई लिएर प्रश्न उठाउन थालेका छन्। फ्रिडम हाउस जस्ता संस्थाहरूले नेपालको लोकतान्त्रिक मूल्याङ्कनमा धार्मिक सहिष्णुताको घट्दो स्तरलाई एउटा मुख्य सूचकका रूपमा लिन थालेको प्रतिवेदनमा उल्लेख छ।

























