सिक्किममा गुञ्जिँदै नेपथ्य

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार ०८:३६

काठमाडौं। नेपाली लोकरक ब्यान्ड नेपथ्य अक्टोबर ३१ (कात्तिक १४) मा भारतको सिक्किमस्थित गान्तोकमा प्रस्तुत हुने भएको छ । गान्तोकको पाल्जोर स्टेडियममा हुने कन्सर्टका लागि ब्यान्ड र आयोजकले तयारी तीव्र पारेका छन् ।

नेपथ्य सिक्किममा चौथोपटक प्रस्तुत हुन लागेको हो । राजधानी गान्तोकको मुख्य स्टेडियममा हुन लागेको कन्सर्टलाई विशेष बनाउन तयारी भइरहेको आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कका विकेश कायस्थले बताए । उनका अनुसार कार्यक्रमस्थलको व्यवस्थापन र सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।

कन्सर्टको घोषणासँगै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले टिकट र नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए । आयोजकले कन्सर्टलाई सिक्किमको प्राकृतिक सुन्दरता प्रवर्द्धन गर्ने र युवा पुस्ताको मनोबल बढाउने अवसरका रूपमा पनि लिएको छ । कार्यक्रमका दिन बेलुका ५ बजे स्टेडियमका ढोका खुल्नेछन् भने ७ बजे कन्सर्ट सुरु हुनेछ ।

नेपाली, भुटिया र लेप्चा सांगीतिक परम्परा प्रचलित सिक्किममा मादल, सारङ्गी, डम्फु, टुङ्ना र नौमतीजस्ता बाजा प्रयोग गरिन्छन् । झ्याउरे, दोहोरी, सेलो, मारुनी, चुट्का र सोरठीजस्ता नेपाली लोकभाका पनि त्यहाँ लोकप्रिय छन् । नेपालको ग्रामीण जीवन र परिवेशबाट प्रेरित नेपथ्यका गीत सिक्किमका श्रोताले लामो समयदेखि रुचाउँदै आएका छन् ।

ब्यान्डका गायक अमृत गुरुङले सिक्किमका रेडियोमा नेपथ्यका गीत सुनेर प्रभावित श्रोताबाट आफूले नियमित रूपमा सन्देश पाउने गरेको बताए । यसपटक रङ्गशालामा हुन लागेको कन्सर्टलाई लिएर प्राप्त उत्साहजनक प्रतिक्रियाले थप हौसला मिलेको उनको भनाइ छ । गुरुङका अनुसार नेपथ्यको स्थापना भएलगत्तै कन्सर्टका लागि निम्तो दिने दर्शकमध्ये सिक्किम–दार्जिलिङ क्षेत्रका श्रोता पनि थिए ।

कन्सर्टमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन् ।

सिक्किमपछि नेपथ्यले पूर्वी नेपालका दुई सहरमा प्रस्तुति दिनेछ । ब्यान्डले कात्तिक १८ मा इटहरी र कात्तिक २१ मा झापाको चारआलीमा कन्सर्ट गर्नेछ । तिहारपछि देशका चार साना तथा मझौला सहरमा सांगीतिक यात्रा गर्ने नेपथ्य डिसेम्बरमा अस्ट्रेलिया जाने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×